पाँच दिनपछि खुल्यो बीपी राजमार्ग

भोलिबाट डाइभर्सन सडक प्रयोग गरि यात्रा गर्न प्रहरीको सुझाव
आश्विन २४, २०८२ |राजकुमार कार्की
पाँच दिनपछि खुल्यो बीपी राजमार्ग

सिन्धुली । बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलीखेल खण्डको सिन्धुलीतर्फ तीन र काभ्रेतर्फको १३ स्थानमा डाइभर्सन सडक निर्माणपछि शुक्रबारबाट यातायात सुचारु भएको छ । असोज १८ र १९ गते रोशीखोलामा आएको बाढीले अस्थायी ट्रयाक १६ ठाउँमा गरि तीन दशमलव पाँच किलोमिटर बगाएको थियो ।

मोटरसाइकल र केही साना गाडी भकुण्डे हुँदै माम्ती आएर सिन्धुलीतर्फ आइसकेको निर्माणस्थलमै रहेका मुलकोटका होटल व्यवसायी मनोज श्रेष्ठले जानकारी दिनुभयो । माम्ती नजिक पहिरो सफा गर्ने काम भैरहेको छ भने केही साना सवारी पास भएको उहाँले जनाउनभुयो । अस्थायी डाइभर्सन निर्माण शुरु भएको पाँच दिनमा बीपी राजमार्ग खुलेको हो । गत वर्ष झण्डै तीन साता लागेको थियो ।

अब बीपी राजमार्गको डाइभर्सन प्रयोग गरेर काठमाडौं आवतजावत हुनेछ । गत वर्षको असोजमै आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडकमध्ये आधाजसो रोशी खोलाले बगाएको थियो । तीन खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लागिसकेको छ । भौतिक पूर्वाधार तथा निर्माण मन्त्री कुलमान घिसिङले दुइपटक स्थलगत निरिक्षण गरेर सडक खुलाउन द्रूत गतिमा काम गर्न निर्देशन दिएसँगै रातको समयमा समेत काम भएको थियो ।

बीपी राजमार्गको धुलीखेल, सिन्धुली वर्दिवास सडकको तीन खण्ड यसअघि नै संचालनमा छ । नेपालथोक–धुलीखेल खण्ड पनि संचालनमा आएकाले अब कतै वाधा छैन। प्रहरीले भने अहिले नै यातायातको चाप बढि भए जाम पर्ने भएकाले भोलिबाट डाइभर्सन सडक प्रयोग गरि यात्रा गर्न सुझाएको छ ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।