काठमाडौं । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा पुग्ला ?
यसको जवाफ ओमानमा बुधबार सुरू हुने आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटले दिनेछ । नेपालसहित नौं राष्ट्रबीचको प्रतिस्पर्धापछि टी-२० विश्वकपमा पुग्ने अन्तिम ३ टोलीको टुंगो लाग्ने छ । आज हामी नेपाली टोलीको छनोट प्रतियोगिताको उपाधि दावेदारीका विषयमा चर्चा गर्नेछौं ।
सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दोस्रो पटक यो प्रतियोगितामा सहभागि हुन १० वर्ष लगायो । तर यस पटक भने नेपाली टोली लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउन प्रतिबद्ध देखिन्छ ।
भारत र श्रीलंकामा संयुक्तरूपमा हुने टी-२० विश्वकप २०२६ मा पुग्न तीन स्थानका लागि ९ राष्ट्रबीच १० दिन लामो संघर्ष हुनेछ । त्यो संघर्षको मैदानमा नेपाल पनि छ । नेपालले यसअघि वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृङ्खला खेलेर नयाँ आत्मविश्वास बटुलेको छ ।
नेपाल समूह 'बी' मा कुवेत र जापानसँग छ । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् । जहाँ समूह चरणका प्रतिद्वन्द्वीबाहेक अन्य २ समूहबाट अघि बढेका ४ टोलीविरूद्ध प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सुपर सिक्सका शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
गत संस्करण एसियाबाट नेपाल र ओमान तथा ईस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनीले विश्वकपमा स्थान बनाएका थिए । तर, यसपटक एसिया र ईस्ट एसिया प्यासिफिक क्षेत्र गाभिएकाले प्रतिस्पर्धा कडा हुनेछ । नेपाली टोली अहिले आत्मविश्वासले भरिएको छ । वेस्ट इन्डिजलाई ऐतिहासिक टी-२० सिरिज हराएर आएको टोलीले ओमानमा दुई अभ्यास खेल पनि जितेको छ । कप्तान रोहित पौडेलको टोली लगातार जितको भोको देखिन्छ ।
स्टुअर्ट लको प्रशिक्षणमा रहेका टोलीमा हरेक विभागमा प्रसस्त विकल्प छन् । खेलाडी-खेलाडीबीच सुरूवाती ११ मा स्थान बनाउन कडा प्रतिस्पर्धा छ । आवश्यक हरेक विभागमा विकल्प हुनुले पनि नेपाललाई दाबेदार टोली मानिएको छ । ब्याटिङमा गहिराई, फास्ट र स्पिन बलिङमा धेरै विकल्प, अलराउण्डर र आक्रमक ब्याटरहरुको बाहुल्यता नेपाली टोलीसँग छ । साथै सबै खेलाडी फिट, फोकस र प्रेरित छन् ।
तर इतिहास हेर्दा नेपालले ओमानमा खास प्रदर्शन गरेको देखिँदैन । एसीसी प्रिमियर कप २०२४ मा चौथो स्थान हासिल गरेपछि नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन । शीर्ष ३ स्थान हासिल गरेका यूएई, ओमान र हङकङ एसिया कप खेलेर यो प्रतियोगितामा सहभागिता जनाउने छन् । तर नेपालले विश्वकप छनोट प्रतियोगिताका लागि लामो तयारी गरेको छ ।
भारतदेखि अस्ट्रेलिया र यूएईमा गरिएका सबै तयारी विश्वकप छनोटका लागि नै हो । त्यसकारण नेपाललाई प्रतियोगिताको प्रवल दावेदार मान्न सकिन्छ । समूह चरणमा कुवेत र जापान, अनि सुपर सिक्समा सम्भावित ओमान, यूएई र पपुवा न्युगिनीविरूद्धका हरेक खेल नेपालका लागि निर्णायक हुनेछन् । अब प्रश्न एउटै छ के नेपाल फेरि विश्वमञ्चमा गज्जबको पुनरागमन गर्न सफल होला ?