तुईन खोलामा ढुंगा खस्न थालेपछि नारायणघाट-मुग्लिन सडक खण्ड पूर्णरूपमा बन्द

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
तुईन खोलामा ढुंगा खस्न थालेपछि नारायणघाट-मुग्लिन सडक खण्ड पूर्णरूपमा बन्द

चितवन । चितवनका इच्छाकामना गाउँपालिका-५, स्थित तुईन खोलामा निरन्तर ढुंगा खस्न थालेपछि नारायणघाट-मुग्लिन सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ । 

यसअघि यो सडक खण्ड भएर पोखरा जाने सवारी साधान आवातजावत गरिरहेका थिए । अहिले दिउँसोबाट पूर्ण रूपमा बाटो बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयाे । ‘अहिले फिस्लिङमा पनि पहिरो खसेर अवरुद्ध छ, तुईन खोलामा जोखिम बढेकाले पूर्ण रूपमा बाटो बन्द गरिएको छ’-प्रहरी उपरीक्षक पुरीले भन्नुभयाे । तुईन खोलामा स-साना पहिरो खस्दा बिहान एकतर्फी बाटो खुला गरिएको थियो ।

काठमाडौं जाने सवारी साधनलाई भने बिहानैदेखि सुरक्षित ठाउँमा रोकेको थिए । प्रहरीका अनुसार कुरिनटार, मुग्लिन, रामनगर, आँपटारी, पोखरा बसपार्क, नाराणघाट बसपार्क, गोन्द्राङ, टिकौली, रत्ननगरको शान्ति चोक, पर्सा, भण्डारा, लोथरलगायत एक दर्जन ठाउँमा सवारी साधनहरूलाई सुरक्षित ठाउँमा रोकेको छ । 

अहिले सडकमा यात्रुबाहक बसहरू खासै नरहेको र धेरै जसो फर्काइएको छ भने हाल ट्रक, ग्याँस बुलेटहरू मात्रै बाटोमा रोकिएका छन् । दिउँसोसम्म धादिङ र पोखरातर्फ सवारी साधन गुडेपनि अहिले धादिङतर्फ जाने सवारी भने बाटोमै रोकिएका छन् । इच्छाकामना गाउँपालिका-३, फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरूद्ध बनेको हो ।

यस्तै चितवन प्रहरीले निरन्तर वर्षा भएकाले नदी नटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । शनिबार दिउँसो प्रहरीले नारायणी नदी क्षेत्रमा माइकिङ गर्दै सुरक्षित रहन र नदी क्षेत्रमा नजान अनुरोध गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.