खुम्बुमा भारी हिमपात, हजारौँ पर्यटक होटलमै थन्किए

आश्विन १८, २०८२ |भानुभक्त निरौला
खुम्बुमा भारी हिमपात, हजारौँ पर्यटक होटलमै थन्किए

सोलुखुम्बु । असोज महिनामै सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बुमा भारी हिमपात भएको छ । 

जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकास्थित लोबुचे र सो भन्दा माथिल्लो क्षेत्रमा भारि हिमपात भइरहेको छ । अटम सिजन सुरू भएसँगै मौसममा आएको बदलावले खुम्बु क्षेत्रमा बेमौसमि हिमपात भएको हो । 

अहिले जिल्लाको तल्लो क्षेत्रमा भिषण वर्षा भइरहेको छ भने माथिल्लो क्षेत्रमा बिहानैदेखि हिउँ परिरहेको छ । पाङबोचे र सो भन्दा माथिको क्षेत्रमा हिउँ पर्दा पर्यटकहरू पद यात्रा स्थगित गरेर होटलमै बसिरहेको सगरमाथा प्रदुष्ण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयाे । उहाँका अनुसार अहिले खुम्बु क्षेत्रमा २ हजार ५ सय बढी पर्यटक पुगेका छन् । 

जसमध्ये नाम्चेका होटलमा मात्रै ८ पर्यटक बसिरहेका छन् । धेरै पर्यटक तेङबोचे गाउँमा बसिरहेको बताइएको छ । खुम्बु क्षेत्रमा पर्यटकको सुचना र सुरक्षाको लागि प्रहरीले गस्ति गरेको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिनुभयाे । 

उहाँकाअनुसार पर्यटकहरूलाई सुरक्षित रूपमा होटलमा बस्न सुचना जारी गरिएको छ । मौसम खराबी भएसँगै अहिले हवाइ मार्ग र सडक मार्गबाट पर्यटक सगरमाथा क्षेत्र भित्रिन सकेका छैनन् ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।