
काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ ।
शनिबार बिहानदेखि सुरू भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायब उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरू खटाएको बताउनु भयो ।
विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको उहाँले जानकारी दिनुभयो । हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको उहाँले बताउनु भयो ।
५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरू लगाएर बोराहरू हाल्ने काम भएको उहाँले जानकारी दिनुभयाे । १ सय २९ वटा र्याफ्टिङहरू कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि उहाँले बताउनु भयो ।
उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाई राखिएको उहाँकाे भनाइ छ । ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताउनु भयो ।
उहाँले ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनु भयो । हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको उहाँले बताउनु भयो ।