कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी

आश्विन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर बदली भई कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको जनाएको छ । आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

बाँकी प्रदेशका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ । त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेकाले पानी परेको हो ।

आज बिहानसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसोसम्म पनि सबै ठूला खोलानालामा पानीको सतह सतर्कता तहभन्दा तलै रहने विभागको प्रक्षेपण छ ।

आज दिउँसोदेखि भने मधेश बागमती, गण्डकी र लुम्विनी प्रदेश भई बग्ने नदीहरुमा बहाब उल्लेख्य बढ्न सुरु हुने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज रातिदेखि नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाका नदीनालामा आकस्मिक बाढीको जोखिम रहेको छ ।

भोलि बिहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र तिनका सहायक नदीहरुमा बहाब उल्लेख बढेर सतर्कताको तह आसपास पुग्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

बाढी र डुबान हुनसक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी भएकाले त्यसका लागि समन्वय गर्न विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.