काठमाडाैं । मिठा परिकार खाँदै परिवार र आफन्तसँग रमाइलो गर्ने पर्व हो दशैं ।
दशैं लाग्नेवित्तिकै के खाने र के पिउने भन्ने योजना पनि तपाईँ बनाउँदै हुनुहुन्छ होला। कतिपयको त खाने पिउने क्रम पनि सुरू भइ नै सक्यो। तर दशैं हो भनेर जथाभावी खानपान गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले दशैं त मनाऊँ तर सन्तुलित आहारविहार र मनोरञ्जनका साथमा । किनभने दशैं सकिएपछि अस्पताल पुग्ने बिरामीसमेत बढेको अनुभव चिकित्सकले हामीलाई सुनाएका छन्।
दशैंलाई मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने चाडका रूपमा लिने गरिन्छ । तर दशैं भन्दैमा जे पनि खाने र जति पनि खाने गर्नाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । चिकित्सकहरू भन्छन्– दशैं सकिएपछि अस्पताल आउने बिरामीसमेत बढ्छन् । हो, दशैंमा अत्यधिकमात्रामा माछा-मासुलगायतका परिकार खाने, असन्तुलित खाना खाने गर्नाले समस्या निम्तिने गर्छ ।
माछा–मासु, चिल्लो–पिरो, गुलिया मिठाइलगायतका परिकार जथाभावी खानाले झाडापखालादेखि दीर्घ रोगको जोखिम बढाउँछ । दशैं आफन्त र परिवारजन भेटघाटको पर्व पनि हो । यस्तो भेटघाटका क्रममा थरिथरिका परिकार र पेय पदार्थको प्रयोग अत्यधिक हुन्छ ।
टीका थाप्न जाँदा केही न केही खानैपर्ने बाध्यता आइलाग्न सक्छ । शरीरले पचाउन नसक्ने गरी खाँदा दीर्घ रोगीलाई त समस्या निम्तिन्छ नै सामान्य अवस्थाको व्यक्तिसमेत बिरामी पर्नसक्ने जोखिम हुन्छ । त्यसो भए दशैंमा खानपान कसरी गर्ने त ? चिकित्सकहरू भन्छन्- भोजन सन्तुलित हुनुपर्छ । दशैं हो भनेर माछामासुका परिकारमात्रै खानु हुँदैन ।
अत्यधिक चिसो पेय पदार्थ र मदिरा सेवन गर्नु हुँदैन । सागपात तथा फलफूल पनि बराबर खानुपर्छ । योसँगै प्रसस्त मात्रामा पानी पिउन भुल्नु हुँदैन । भेटघाटमा जाँदा चाडबाड त हो नि भनेर हामीलाई धेरैभन्दा धेरै खानाका परिकार खान र खुवाउन आफन्तहरूले प्रेरित गरिरहनुभएको हुनसक्छ ।
आफ्नै घरमा पनि हामी पहिल्यै पकाएर राखिएका बासी परिकार खाइरहेका हुन्छौं । यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने जिम्मा हाम्रो आफ्नै हो । त्यसैले दशैंमा आफूलाई मनपर्ने परिकार खाऊँ तर शरीरले पाचाउन सक्ने गरी र सन्तुलितरूपमा मात्रै । यसो गर्न सकियो भने चाडबाड मनाउँदै गर्दा बिरामी परेर अस्पताल जानुपर्ने जोखिमबाट बच्न सकिन्छ ।