जनकपुरमा बडादशैंको रौनक

आश्विन १४, २०८२ |अनिल मिश्र
जनकपुरमा बडादशैंको रौनक

जनकपुर । यतिखेर प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बडादशैंको रौनक छाएको छ । 

संघ-संस्था र युवाहरूबीच देखिएको आपसी सहयोग र सद्भावसँगै जनकपुरधाममा मनाउन थालिएको दुर्गा पूजाको ख्याती निकै बढ्दो छ । राजदेवीलगायत विभिन्न मन्दिरमा पूजा तथा दर्शनका लागि नेपालका विभिन्न स्थानका साथै भारतीयबाट समेत श्रद्धालुहरू जनकपुरधाम आउने गर्छन् ।

मिथिलामा बडादशैंको रमझम अहिले निकै छाएको छ । जनकपुरधाम नगरभित्र रहेका शक्तिपीठहरूलाई बेहुली झै सिंगारिएको छ । मन्दिरहरूलाई आकर्षण र मनमोहक बनाउन युवा क्लवहरूले लाखौं खर्चेर पण्डाल बनाउनेदेखि सरसफाइ र बत्तिको व्यवस्था मिलाएका छन् ।

ऐतिहासिक राम मन्दिरसँगै रहेको राजदेवी मन्दिर, अमरखाना, बौद्धीमाई, पिडरियामाई, बिद्यापतिचोक दुर्गा मन्दिर, रामानन्दचोकलगायतका स्थानमा उल्लासमय वातावरणका बीच भक्तिभाबका साथ पुजा दर्शन गर्नेहरूको भिड दिनप्रति दिन बढदै गएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको राजदेवी मन्दिरमा मात्र महाष्टमीको राति प्रत्येक वर्ष १३ हजार भन्दा बढी बोकाबली दिइन्छ । अत्यधिक भिडभाडलाई मध्य नजर राख्दै शान्ति सुरक्षाका लागी यहाँ ८ सय नेपाल प्रहरी र ४ सय भन्दा बढी शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

गाउँदेखि शहरसम्मका स्थानीय दशैंलाई रोचक बनाउन उत्साहका साथ लागि परेका छन् । उनीहरूले नाटक, सांस्कृतिक कार्यक्रम र प्रहसनदेखि लोकनृत्य तथा लोकनाचमार्फत दशैंलाई थप आकर्षक बनाउँदै आएको छ । आसुरी शक्तिमाथि दैवीशक्तिले विजय प्राप्त गरेको खुसियालीमा मिथिला मधेशको विभिन्न स्थानमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेश, रेमन्त लगायतका देवीदेवताहरूको प्रतिमा बनाएर विशेष रूपमा पूजापाठ गर्ने परम्परा छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।