आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा कुमारी घरमा भित्र्याइयो

निवर्तमान कुमारीको पनि बिदाइ
आश्विन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा कुमारी घरमा भित्र्याइयो

काठमाडौं । काठमाडौंको जीवितदेवी कुमारीको रूपमा छनोट हुनुभएकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई मंगलबार विशेष सम्मानका साथ वसन्तपुरस्थित कुमारी घरमा भित्र्याइएको छ ।

नयाँ कुमारी आर्यतारालाई मंगलबार तलेजु भवानीको दर्शन गराई शुभसाइतमा कुमारी घरमा आसन गराइएको हो । उहाँको निवासदेखि वसन्तपुरस्थित कुमारी घरसम्म बाजागाजासहित सम्मानका साथ भित्र्याइएको हो । 

काठमाडौका १६ वटा बहालमा रहेका शाक्य, बज्राचार्य कूलमध्येबाट ज्योतिष शास्त्र अनुसार नवग्रह, राशी मिल्ने ३२ लक्षणयुक्त कुमारी छनोट गर्ने परम्परा छ । वसन्तपुरस्थित कुमारी घरमा आसन ग्रहणपछि नयाँ कुमारीलाई विशेष सम्मान अर्पण गरिएको थियो।

नयाँ कुमारी काठमाडौं इटुम्बहालका अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी कान्छी छोरी हुनुहुन्छ। कुमारीलाई जीवित देवीका रूपमा पूजाआजा गर्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा छ। 

१२ वर्ष उमेर पुगेसँगै तृष्णा शाक्यलाई कुमारी पदबाट अवकाश दिइएपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । तृष्णालाई मंगलबारै सम्मानसहित घर पठाईएको छ । उहाँ २०७४ सालमा कुमारी चयन हुनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.