बागलुङको कालिका भगवती मन्दिरमा विशेष पूजा, नवरात्रिभर श्रद्धालुको घुइँचो

आश्विन १३, २०८२ |प्रदीप पन्त
बागलुङको कालिका भगवती मन्दिरमा विशेष पूजा, नवरात्रिभर श्रद्धालुको घुइँचो

बागलुङ । नेपालको शक्तिपीठमध्येको एक बागलुङको कालिका भगवती मन्दिरमा नवदुर्गा सुरू भएसँगै विशेष पूजा हुने गरेको छ । 

कालिका भगवती मन्दिरमा नवरात्रिभर पूजा हुने गर्दछ । मन्दिरमा पूजासँगै दर्शन गर्न श्रद्धालुहरूको घुइँचो लागेको छ । नवरात्रि सुरू भएसँगै बागलुङको कालिका भगवती मन्दिरमा पूजा तथा दर्शन गर्न भक्तजनहरूको भिड लागेको छ । 

रमणीय जंगलको बीचमा रहेको मन्दिरमा पूजा गर्न आउने श्रद्धालुहरूको घुइँचो बढेको हो । हरेक वर्षको नवदुर्गाभर विशेष पूजा अर्चना हुने यस मन्दिरमा भक्तजनहरू उत्साहका साथ आउने गरेका छन् । 

कालिका भगवती मन्दिरमा आएर पूजा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास छ । मन्दिरमा पूजाअर्चना गर्न जिल्लाभित्रका मात्रै नभई देशका विभिन्न भागसँगै भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कने धेरै तीर्थयात्री यहाँ आउने गरेका छन ।

यससँगै १५औं शताब्दीको वास्तुकलात्मक महत्व एवं धार्मिक आस्था बोकेको कालिका भगवती मन्दिरको महिमा बढ्दै गएको छ । विषेश गरी नवदुर्गाका साथै चैत्राष्टमी, शनिबार, मंगलबारसमेत यस मन्दिरमा पूजाआराधना हुने गर्दछ । 

मन्दिरमा रोट, नरिवललगायत फलफूसमेत भक्तजनले चढाउने गर्दछन् । वर्षभरिमा १५ लाख भक्तजनहरूले मन्दिरमा दर्शन गर्ने गरेको समितिले जनाएको छ । यसबाट आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।