काठमाडौं । मुग्लिन-नारायणगढ सडकको तुईन खोलामा सोमबार मध्याह्न पुनः खसेको पहिरो लगभग ६ घण्टापछि पहिरो पन्छाएरसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५, तुइन खोलामा मध्याह्न १२ बजे पहिरो खस्दा दिउँसभर जस्तो नै दशैं मनाउन काठमाडौं बाहिरिने र भित्रने यात्रुहरू समस्यामा परेका थिए ।
भरतपुर र मुग्लिन दुवैतर्फ एस्काभेटरले पहिरो हटाएसँगै बाटो सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले बताउनुभयो । पहिरोका कारण दशैंमा हिडेका यात्रु लामो जाममा परेका छन् । यसैगरी, वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा साेमबार पनि राजमार्ग बन्द रहेको नेपाल प्रहरीले जनाएको छ ।
सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरूद्ध रहेका हुन् । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ बरूणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका-३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ । यो सडक लामो समयदेखि अवरूद्ध छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरूद्ध सडक खुल्न सकेको छैन । सडक अवरूद्ध हुँदा नेपाल-चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । साेमबार रसुवाको गोसाइँकुण्ड नगरपालिका-२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरूद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ एककिलोमा आइतबारदेखि परेको वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाह्रकिलोमा साेमबार खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ ।