चितवन । नारायणगढ-मुग्लिन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै गएरातिबाट सवारी आवागमन सञ्चालन भएको हो । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो ।
नारायणगढ-मुग्लिन सडकमा राति पीने ११ बजेबाट दोहरै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभएको छ । तीन दिनपछि सडक सञ्चालनमा आएकाले सबैले सडक लेन पालना गरे जाम खुलाउन र यात्राका लागि सहज हुने ट्राफिक प्रहरीले जनाएको छ ।
दसैंको मुखमा पहिरो खसेर सवारी आवागमन बन्द हुँदा पूर्व-पश्चिम हिँडेका यात्रु बिच सडकमै अलपत्र परेका थिए । दैनिक उपभोग्य वस्तु बोकेका मालबहाक सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिएका छन् । अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।