काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनमा समेत यसबारे सरकारी निकायले अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
विभागको टोलीले देउवा, दाहाल र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारीले नेताहरुको घरमा आगजनीपछि नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ती भिडियो र फोटोको फरेन्सिक जाँच भने भइसकेको छैन। घर जलेको तेस्रो दिनपछि प्रहरीले नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो। घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो ।