काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुभएको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल गरिदिन आग्रह गर्नुभयो ।
बहिनी पुष्पाले पनि आफ्नो दाई निर्दोष रहेको उल्लेख गर्दै उनलाई यथाशिघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गर्नुभयो । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाईको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको बताउनु भयो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हमाससँग नजिक रहेका राष्ट्रहरूसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीको पहलमा दाई घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताउनु भयो ।
जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुग्नुभएको थियो ।