नारायणगढ-मुग्लिन सडक अपराह्न पाँच बजेसम्म एकतर्फी खुला गर्ने तयारी

वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनको आग्रह
आश्विन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नारायणगढ-मुग्लिन सडक अपराह्न पाँच बजेसम्म एकतर्फी खुला गर्ने तयारी

काठमाडौं । मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण तीन दिनदेखि ठप्प रहेको नारायणगढ-मुग्लिन सडक खुलाउने प्रयास भइरहेको छ ।

आइतबार बिहानैदेखि पहिरो पन्छाउन सुरू गरिए पनि अहिलेसम्म खुलाउन सकिएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार अपराह्न पाँच बजेसम्म सडक एकतर्फी खुल्ला गर्ने प्रयास भइरहेको छ । 

बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । राजधानी काठमाडौंलाई पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक अवरूद्ध हुँदा दशैंको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिएका छन्। 

जिल्ला ट्राफिक कार्यालयले पहिरोका कारण साढे ११ हजार गाडीहरू सडकमै फसेको जनाएको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरू बाटोमै अलपत्र छन् । 

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानजिक शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । भरतपुरको डिभिजन सडक कार्यालयले वैकल्पिक मार्गहरू अपनाउन अपील गरेको छ । 

काठमाडौँबाट मुग्लिनसम्म आएका पश्चिम जाने साना ठूला सबै खाले गाडीहरू पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तब्यमा जान सक्ने डिभिजन सडक कार्यालयले जनाएको छ । 

यस्तै भिमाद हुँदै कालीगण्डकी करिडोर पनि प्रयोग गर्न सकिनेछ । पूर्वबाट काठमाडौं आवतजावत गर्ने गाडीहरूले नौबिसे-दामन-हेटौंडा सडक प्रयोग गर्न सकिने सडक कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.