बुटवल । लामो रूटमा यात्रा गर्ने चालक र यात्रुलाई आराम दिन लुम्बिनी प्रदेश सरकारले स्मार्ट रिफ्रेस सेन्टर बनाउन सुरू गर्यो । तर, ५ वर्षअघि निर्माण थालिएका करोडौं लगानीका रिफ्रेस सेन्टर अझै पूरा भएका छैनन् ।
यो पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनामा निर्माणाधीन स्मार्ट रिफ्रेस सेन्टर हो । जहाँ लामो दूरीको यात्रामा गुड्ने गाडी रोक्ने, यात्रु र चालकलाई केहीबेर आराम गर्ने, शौच गर्ने, स्वास्थ्यकर खाना एवं नास्ता खाने स्थल बनाउने योजना छ ।
योजना अनुसार लुम्बिनी प्रदेश सरकारले ३ करोड ५५ लाख ७९ हजार लागतमा पहिलो चरणको काम भएको छ । तर, दोस्रो चरणको काम पहुँचमार्ग, पार्किङ र बगैँचा निर्माण नहुँदा ३ वर्षअघि निर्माण भएको स्मार्ट रिफ्रेस सेन्टर घाँसे मैदानमा परिणत भएको छ ।
लुम्बिनी प्रदेशमा पर्ने पूर्व-पश्चिम राजमार्गमा लामो दूरीको यात्रामा गाडी रोक्ने, शौच गर्ने र केही समय आराम गर्ने स्थान छैनन् । यही अभाव पूरा गर्न लुम्बिनी प्रदेश सरकारले ५ स्थानमा ५ वर्षअघि स्मार्ट रिफ्रेस सेन्टर निर्माणको काम सुरू गरेको थियो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनासँगै दाङको लमही र बर्दीयाको बासगढी कपिलवस्तुको चन्द्रौटा र नवलपरासी पश्चिको बर्दघाटमा रिफ्रेस सेन्टर बनाउन थालेको हो ।
जग्गा विवादले दाङको लमही र बर्दीयाको बासगढीमा रिफ्रेस सेन्टर सुरू नै भएका छैनन् । स्मार्ट सेन्टरका लागि रूपन्देहीमा जस्तै कपिलवस्तुको चन्द्रौटामा पनि पहिलो चरणमा ४ करोड २ लाख ६७ हजार ६६१ रूपैयाँको काम भएको छ ।
नवलपरासीको बर्दघाटमा ३ करोड ३८ लाख २६ हजार ६ सय १९ रूपैयाँमा पहिलो चरणको काम सकिएको छ । तर, दोस्रो चरणको काम नहुँदा यो रिफ्रेस सेन्टर पनि प्रयोगमा आउन सकेको छैन । यसले एकातिर सरकारको रकम खेर गएको छ भने अर्कोतिर यात्रुहरूले सुबिधा लिन पनि पाएका छैनन् ।
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयले स्मार्ट रिफ्रेस सेन्टरको पहिलो चरणको निर्माणको काम पूरा भएपछि स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना बनाएको थियो ।
तर, अहिलेसम्म रिफ्रेस सेन्टर सञ्चालनबारे कार्यविधि बनाएको छैन । नयाँ र महत्वकांक्षी योजना बनाउने तर, कार्यान्वयनमा नलैजाने लुम्बिनी प्रदेश सरकारको यो परिपाटी फेर्न जरूरी छ ।