पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको लाइनिङ् र इन्भर्टको काम सकिएको छ । मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम सबै सकिएको सिद्धबाबा सुरुङ्ममार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभएका छ । भुइँ भागको ढलान अर्थात् इन्भर्टको काम यस अघि नै सकिएको छ ।
उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम भइरहेको छ । यस बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआउने हो भने अबको ७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ । बाइपास एक अन्तर्गत १ सय ५१, बाइपास दुई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर लम्बाई रहेको छ । बाइपास १ मा इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ ।
लाइनिङङ्को काम पनि १२९.७ मिटर भइसकेको छ । बाइपास २ मा इन्भर्टको काम १५७.८ मिटर भइसकेको छ भने लाइनिङ्को काम ६५.४ मिटर भइसकेको छ ।
बाइपास ३ मा इन्भर्टको काम १२५ मिटर भइसकेको छ । लाइनिङ्को काम पनि १०९.८ मिटर भइसकेको आयोजना कार्यालयले जनाएको छ । सुरुङ क्षेत्रको उत्तर र दक्षिणतर्फ स्लोप प्रोटेक्सनको काम भइसकेको छ ।
आयोजना अन्तर्गत निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ९ वटा कल्भर्टको काम सकेर नाली निर्माणको काम गरिरहेको छ । भदौ ३० गतेसम्म सुरुङमार्गको भौतिक प्रगति ६१.०६ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१.०१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।