विपक्षी दल र नागरिक समाजले मागे प्रधानमन्त्रीकाे राजीनामा

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपक्षी दल र नागरिक समाजले मागे प्रधानमन्त्रीकाे राजीनामा

काठमाडौं । १९ जनाको ज्यान जाने गरी सरकार हिंसात्मक दमनमा उत्रिएपछि विपक्षी दल र नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले गरेको बल प्रयोगको जिम्मा लिँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । घटनाको जिम्मेवारी प्रधानमन्त्री र उहाँको नेतृत्वको मन्त्रिपरिषद्ले लिनुपर्ने उहाँको भनाइ छ । 

यस्तै रास्वपाले पनि प्रधानमन्त्रीको राजीनामा तथा अर्ली इलेक्सनको माग गरेको छ । एकीकृत समाजवादीले सरकारी दमनको निन्दा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ । 

साेमबार बसेको सचिवालय बैठकले सामाजिक सञ्जाल प्लेटर्फमहरू तत्काल खोल्न र वार्ताबाट आन्दोलनकारीका जायज माग पूरा गर्नुपर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी नेपालले एक विज्ञप्ति जारी गर्दै जेन-जी युवाहरूलाई सरकारले दमन गरेको भन्दै निन्दा गरेको छ। 

जसपा नेपालले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन पनि माग गरेको छ । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेले पनि गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र नदिए पार्टीले तत्काल फिर्ता बोलाउनुपर्ने माग गर्नुभयो । 

यसैगरी, मानवअधिकारकर्मीहरूको सञ्जाल जवाफदेहीता निगरानी समिति’ले पनि सञ्चारमन्त्रीको राजीनामा माग गरेको छ । समितिले घटनाको स्वतन्त्र छानबिन र जेन-जीका माग तत्काल सम्बोधनका लागि पनि जोडदार माग गरेको छ । 

यसैबिच राष्ट्रसंघको नेपालस्थित आवासिय प्रतिनिधी हना सिंगरले अधिकतम संयम र सावधानी अपनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.