काठमाडौं । जेन-जीको प्रदर्शनका क्रममा ३ सय ४७ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ ।
कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते हुनुभएको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । यस्तै प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना पनि घाइते हुनुभएको छ ।
बानेश्वरमा भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्यासपछि रबरको गोली चलाएको थियो । अहिले श्रेष्ठको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
मीनभवन स्थित सिभिल अस्पतालमा १ सय, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा चार जनाको उपचार भइरहेको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।
एभरेस्ट अस्पतालमा उपचार गराइरहेका चार जनाको अवस्था गम्भीर छ । त्यस्तै ट्रमा अस्पतालमा उपचार गराइरहेको १० जनाको अवस्था गम्भीर छ । उनीहरूको टाउको र छातीमा गोली लागेको छ । नर्भिकमा पेटमा गोली लागेका १ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबद्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको हो ।