जेन-जीको प्रदर्शन : इटहरीमा प्रहरीको गोली लागेर दुईको मृत्यु, ‍कर्फ्यु आदेश जारी

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जीको प्रदर्शन : इटहरीमा प्रहरीको गोली लागेर दुईको मृत्यु, ‍कर्फ्यु आदेश जारी

काठमाडौं । जेन-जीहरूको प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । 

प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को अधिकार प्रयोग गर्दै कर्फ्यु आदेश जारी गर्नुभएको हो । 

सोमबार दिउँसो साढे तीन बजेबाट लागू भएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि कायम रहने सूचनामा उल्लेख छ । इटहरीमा सोमबार बिहान ११ बजेदेखि नै इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेला भएका कलेजका छात्रछात्राहरूले नाराबाजी गर्दै प्रदर्शन गरे । 

इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट भेला भएका किशोर किशोरीले प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध समेत चर्को नाराबाजी गरे । उनीहरूको प्रदर्शनमा विभिन्न क्षेत्रका अगुवाहरूले पनि साथ दिएका छन । प्रदर्शनकारीले इटहरी उपमहानगरको एउटा भवनमासमेत आगो लगाइदिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.