काठमाडौं । काठमाडौंमा ‘जेन-जी’ युवाहरूको आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।
बानेश्वर क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो। मृतकमध्ये ७ जना ट्रमा सेन्टरमा, ३ जना एभरेस्ट अस्पतालमा, २ जना सिभिल अस्पतालमा, १-१ जना त्रिवि शिक्षण अस्पताल र केएमसीमा छन्।
विभिन्न अस्पतालमा दुई सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ। सिभिलमा १००, ट्रमामा ५०, केएमसीमा ३५, एभरेस्टमा २०, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जना उपचाररत छन्।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन्। ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका भनाइअनुसार ट्रमामा मात्र १० जना गम्भीर छन्, जसको टाउको र छातीमा गोली लागेको छ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो। घाइतेहरूलाई ट्रमा, सिभिल, एभरेस्टलगायतका अस्पतालमा भर्ना गरिएको छ।
सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र फैलिँदो भ्रष्टाचारको विरोधस्वरूप ‘जेन-जी’ पुस्ता काठमाडौंसहित देशका विभिन्न मुख्य सहरमा सडकमा उत्रिएका हुन्।