जेन-जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा मृत्यु हुनेकाे संख्या १३ पुग्याे

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा मृत्यु हुनेकाे संख्या १३ पुग्याे

काठमाडौं । जेन-जी पुस्ताको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। आन्दोलन नियन्त्रणका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएको हो।

एभरेस्ट अस्पताल बानेश्वरमा थप ३ जनाले ज्यान गुमाएका छन्। अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार ५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर छ।

त्यसैगरी, ट्रमा सेन्टरमा ल्याइएका ६ जनाको मृत्यु भएको छ। डा. दीपेन्द्र पाण्डेले मृतकहरूको पुष्टि गर्दै १० जना गम्भीर घाइते रहेको जानकारी दिनुभयाे । "घाइतेहरूमध्ये धेरैको टाउको र छातीमा गोली लागेको छ," उहाँले बताउनुभयाे। ट्रमामा २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ।

सिभिल अस्पतालमा दुई जनाको मृत्यु भएको कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभएकाे छ। यसैगरी, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक-एक जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले सुरूमा पानीको फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो। तर भीड नियन्त्रणमा आउन नसकेपछि गोली प्रहार गरिएको थियो।

सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरूद्ध जेन-जी पुस्ता सडकमा उत्रिएका हुन्। काठमाडौंसहित देशका प्रमुख सहरमा प्रदर्शन भइरहेका छन्।

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गर्दै सेना परिचालन गरिएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी संसद् भवनमा प्रवेश गरेपछि अवस्था थप तनावग्रस्त भएको हो। संसद भवन चारैतिरबाट घेरिएको अवस्थामा प्रहरीले बल प्रयोग गरी भीड नियन्त्रणको प्रयास गरिरहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.