मुस्ताङ। हिमालपारी मुस्ताङको बाटो हुँदै यस वर्षको दशैंकालागी १८ हजार च्याङ्ग्रा ल्याइने भएका छन् ।
भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार यस वर्ष दशैकालागि १० देखि १२ हजारसम्म मुस्ताङ्गका च्याङ्ग्रा, ५ हजार डोल्पाली र ५ सयबढि तिब्बती गरी करिव १८ हजारको हाराहारीमा च्याङ्ग्रा मुस्ताङ्गी बाटो भएर दशैं बजार भित्रिने अनुमान छ ।
मुस्ताङ्गमा च्याङ्ग्राको संख्या बढेकोले यस वर्ष दशैं बजारमा धेरै आउन लागेका भएपनि मुल्य पनि प्रतिगोटा ३ देखी ४ हजारसम्म बढ्ने भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले प्रक्षेपण गरेको छ ।
मुस्ताङ्गका च्याङ्ग्रा विक्रि गर्ने एक मात्र सिजन दशैं हो । गत वर्ष ८ हजार मुस्ताङ्का ४ हजार डोल्पा र मुगुका च्याङ्ग्रा दशैंकालागी मुस्ताङबाट बाहिरिएका थिए ।
मुस्ताङ्गको तल्लो भेगमा पर्ने म्याग्दी सीमावर्ती थासाङ गाउँपालिका बाहेक मुस्ताङका सवै पालिकामा च्याङ्ग्रा पालन हुने गरेको छ । बढी जंगल रहेको थासाङ गाउँपालिकामा भेडा र स्थानीय जातका बाख्रा मात्र पालन हुन्छ ।