मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२)को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेन्डा भएको हो । 

केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको उहाँले बताउनु भयो । साथै बैठकमा समसामयिक विषयहरूमा पनि छलफल भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेन्डा हो । रूपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छाैँ । फेरि मनाङको विषयमा दल दर्ता गर्नेकुरा हो । केन्द्रीय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’

सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने उहाँले जानकारी दिनुभयो । समाजिक सञ्जालको नियमन राम्रो कुरा भए पनि बन्द गर्नु नहुनेमा जोड दिइएको उहाँकाे भनाइ थियाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.