विराटनगर । विराटनगरस्थित आरोहण गुरूकुलको सुशिला नाटक घरमा भदौ ११ गतेदेखि २८ गतेसम्म नाटक "एक चिहान" मञ्चन भइरहेको छ ।
नाटक हेर्न विद्यार्थीको घुईंचो लागेको छ । दर्शकको घुईंचोकै कारण गुरूकुलले दैनिक दुईदेखि तीन 'सो'सम्म नाटक मञ्चन गरिरहेको छ । गुरूकुलले नयाँ कलाकारलाई अवसर दिएर एक चिहान नाटकबाट छ जना नयाँ कलाकार जन्माएको छ ।
"एक चिहान" हृदयचन्द्र सिंह प्रधानले विक्रम सम्बत २०१७ सालमा लेखेको उपन्यास हो । उपन्यासले करिब सात दशक अघिको सामाजिक चेतना, मानवीय मूल्यबोधका साथै त्यो बेलाको सामाजिक परिवेशको प्रतिनिधित्व गरेको छ ।
कक्षा १२ को पाठ्यक्रममा समेटिएको यो उपन्यासलाई नाटकको रूपमा प्रस्तुत गर्दा विद्यार्थीलाई बुझ्न सजिलो होस भन्ने ध्येयले नाटक मञ्चन गरिएको हो । समाज विकासका वाधक तत्वहरूको उजागर गर्दै ती तत्वहरूलाई हटाएर अग्रगामी यात्रामा अघि बढ्न नाटकले प्रेरित गरेको छ ।
वर्षौदेखि नेपाली समाजमा जरा गाडेर बसेका संस्कारगत अन्ध विश्वास, धार्मिक रूढिहरूलाई छाड्दै सामाजिक परिवर्तनको बाटोमा हिड्न नाटकले प्रेरणा दिएको विद्यार्थीहरूको अनुभव छ ।
"एक चिहान" मार्फत नयाँ कलाकार जन्माउनु पर्छ भन्ने ठानेर आरोहण गुरूकुलले कलाकार बन्न चाहनेहरूका लागि आफ्नो फेसबुक पेजमा सूचना जारी गर्यो । विभिन्न चरणको छनाेट प्रक्रियाबाट आवेदक मध्येबाट छ जना छानिए ।
छानिएका छ जना, डेढ महिना भन्दा बढी प्रशिक्षणमा सहभागी भएपछि उनीहरूले एक चिहानमा अभिनय गरिरहेका छन् । पहिलो पटक मञ्चमा चढ्दा असहज भएपनि अहिले आत्मविश्वास बढेको नयाँ कलाकारहरूको अनुभव छ ।
नयाँ कलाकारले पनि व्यवसायिक कलाकारले जस्तै अभिनय गरेकाले नाटक हेर्दा नयाँ कलाकार हुन भन्ने नलागेको दर्शकहरूको भनाइ छ । दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा मञ्चन भइरहेको नाटक एक चिहानले दर्शकको मन जितेको छ ।