एमालेको विधान महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल जारी, विधिभन्दा नेतृत्वकै विषय प्रधान

समूहगत छलफलमा आएका सुझाव भोलि प्रस्तुत गरिने
भाद्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको विधान महाधिवेशनको दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल जारी, विधिभन्दा नेतृत्वकै विषय प्रधान

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन शनिबार विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । 

विधान महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई बन्दसत्रमा १० वटा समूह बनाएर छलफल थालिएको हो । पहिलो दिन शुक्रबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस भएका थिए ।

ललितपुरको गोदावारीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी एमालेको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल थालिएको हो । अध्यक्ष केपी शर्माले राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

शनिबार दिनभर समूहगत छलफल हुने छ । समूहबाट आएका सुझावहरू आइतबार प्रस्तुत गर्ने कार्यक्रम छ । समूहगत छलफलबाट आएका सुझावसहित प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित प्रतिवेदन पेस गर्नेहरूले दिने र भोलि नै विधान महाधिवेशन सक्ने तयारी छ ।

विधान महाधिवेशमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्कातर्फबाट समेत प्रतिवेदन पेस भइसकेका छन् । विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकसमेत गरी कूल २ हजार ३ सय ४१ जना सहभागी छन् ।

विधान महाधिवेशनमा स्थायी समिति सदस्य कर्ण थापाले पेस गरेको फरक दस्तावेजमाथि भने छलफल गर्न अध्यक्ष ओलीले रोक लगाउनुभएको छ । थापालाई आफ्ना कुरा समूहगत छलफल मै राख्न सुझाव दिनुभएको छ । तर विधान महाधिवेशन प्रतिनिधिको चासो विधि र विधानभन्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीच बढ्दो टसलमा केन्द्रित छ । 

विधान महाधिवेशनमा पार्टीको नीति र विधिमा बहस हुनुपर्ने भए पनि पार्टीको भावी नेतृत्व र पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण विवादतर्फ उन्मुख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.