सुनसरी । कोशी प्रदेशमा पशु चौपायामा फैलिएको लम्पी स्किनको प्रकोप नियन्त्रणको लागि स्थानीय तहहरू उदासीन देखिएका छन् ।
जेठ अन्तिम सातादेखि फैलिएको लम्पी स्किन रोगले पशुपालनबाट जीविकोपार्जन गर्दै आएका किसानले ठूलो नोक्सानी ब्यहोर्दा समेत स्थानीय तहहरूले नियन्त्रणको लागि चासो देखाएका छैनन् ।
वर्षैपिच्छे यो रोगको प्रकोप फैलिँदासमेत स्थानीय तहहरूले बजेट नछुट्याउने, समन्वय नगर्ने र प्रदेश तथा केन्द्र सरकारको मुख ताक्ने प्रवृत्तिले नियन्त्रणमा चुनौती देखिएको छ ।
स्थानीय तहहरूले भेटेरिनरी तथा पशु स्वास्थ्यमा छुट्याएको बजेटसमेत रकमान्तरण गरी खर्च गरेका कारण खोप कार्यक्रमसमेत प्रभावकारी हुन सकेको छैन ।
कोशी प्रदेशमा जेठयता २८ हजार २ सय ५९ वटा गाईगोरू र राँगाभैँसीमा लम्पी स्किन देखएको छ। तीन महिनामा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले लम्पी स्किनविरूद्धको खोप सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत स्थानीय तहहरूलाई वितरण गरे पनि उनीहरूले बजेट अभाव जनाउदै प्रभावकारी काम गर्न सकेका छैनन् ।