भीठामोड नाकामा पर्यटनमन्त्रीको स्थलगत निरीक्षण

भाद्र १८, २०८२ |अनिल मिश्र
भीठामोड नाकामा पर्यटनमन्त्रीको स्थलगत निरीक्षण

काठमाडौं । सडक स्तरोन्नतिका लागि भारतसँग जोडिएको धनुषाको मुख्य जटही नाका बन्द भएपछि मधेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले महोत्तरीको भीठामोड सीमा नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

सडक स्तरोन्नतिको क्रममा भारतीय पक्षले सुचना जारी गर्दै २० दिनको लागि जटही नाका पुर्ण रूपमा बन्द गरे लगतै मन्त्री कुशवाहाले पर्यटकको सहज आवागमन र पर्यटन प्रवर्द्धनमा कुनै प्रकारको समस्या नहोस भन्दै बुधबार भीठामोड नाकाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

नाकामा पूर्वाधार, आवागमण प्रक्रिया, सुरक्षा व्यवस्था र सेवा सुविधाको अवस्था प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटक मैत्री सीमा नाका बनाउन उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले विशेष योजना अघि सारेको उहाँले जानकारी दिनुभयो ।

नाकामा आधुनिक आव्रजन सुविधा, पर्यटन सूचना केन्द्र, आवास, यातायात सेवा, सुरक्षा सुदृढीकरण तथा मधेश प्रदेशका ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखी छिट्टै कार्यान्वयन गरिने मधेश प्रदेश सरकारको योजना छ ।

लगानी सम्मेलनको पुर्व तयारी स्वरुप यस्तो पहलले भीठामोड नाकालाई व्यवस्थित, सुरक्षित र आकर्षक प्रवेशद्वार बनाउने मात्र नभई मधेश प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।