बागलुङमा बाँझो खेत रोप्ने अभियान

भाद्र १२, २०८२ |प्रदीप पन्त
बागलुङमा बाँझो खेत रोप्ने अभियान

बागलुङ । पछिल्लो समय सुविधा, अवसर र रोजगारीका लागि मानिसहरु बसाइँसराइ बढेसंगै गाउँघरका अधिकांस खेतबारी बाँझै छन् । बागलुङमा भने केही युवाले बाँझो खेत रोप्ने अभियान नै चलाएका छन् ।

बागलुङ सदरमुकामदेखि झन्डै १० किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका–७ रेशको फाँट यतिबेला हरियाली बनेको छ । केही बर्ष अगाडिसम्म बाँझो हुने गरेको रेशका फाँट अहिले भने धानको रोपोले हरिय‌ै बनेका छन् । उत्पादनशील जमिन झाँडीले भरिएपछि युवाहरुले गाउँमा ३ सय ७५ रोपनी जमिनमा खाद्यबाली लगाएका छन् ।

केही बर्ष अघिसम्म बाँझो रहेको जमिन अहिले धानको हरियालीले ढाकिएको छ । बिदेशबाट फर्केका युवाहरुले गाउँमा खेतीपाती गर्न थालेपछि रेशका रामपास, बगर, हेकुले, पहिरे, बाह्रमुरे, दामगाडे, रिखार, बुने र नुनथलाको फाटमा खेति पुन सुरु भएको हो ।

बाँझो राख्ने जग्गाधनीसँग समन्वय गरी ५ मुरी उत्पादन हुने जमिनको १० हजार रुपैयाँ खर्च लिने गरेका छन् भने केही आफ्नै खर्चबाट आफैले खेती गर्न थालेका छन् । अहिले झन्डै त्यस क्षेत्रमा मौसम अनुसार ५० भन्दा बढी महिला पुरुषले यो काममा संलग्न रहेका छन । बाँझो जमिनमा खेती गर्ने अभियान नै थालेका युवाहरुलाई छिमेकी र परिवारले समेत साथ र सहयोग दिन थालेका छन ।

गाउँमा बसाइँसराइले सुनसान बनेको छ, अधिकाशं घरहरु रित्तिएका छन् भने भएका घरमा बृद्धबृद्धा मात्र रहेका छन । यस्तो बेला युवाहरुले थालेको बाँझो खेत रोप्ने अभियानले गाउँमा नयाँ उत्साह थपिएको छ । ।

युवाहरुले यसरी खेती गर्न थालेपछि गाउँ छोडेकाहरु प्नि आप्नो बाँझो जमिनमा खेति गरिदिन आग्रह आग्रह गर्ने जग्गाधनीहरुको सङख्या बढ्न थालेको छ । यहाँ चार हजार रोपनी खेती योग्य जमिन रहेपनि अझै झन्डै एक हजार पाँच सय रोपनी जमिन बाँझो रहेको छ ।

यसरी बाँझो जमिनमा खेती गर्ने किसानलाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्दै सम्मान र पुरस्कृत गर्ने नीति समेत लिएको छ ।  


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।