बिराटनगर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राष्ट्रपति तथा उप राष्ट्रपति सकृय राजनीतिमा आउँदा खासै फरक नपर्ने बताउनुभएको छ ।
बिहीवार बिराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै दाहालले नेपालको संविधान र ऐन कानूनले पूर्व राष्ट्रपतिलाई राजनीति र पार्टीमा नआउनु नभनेकोले उहाँहरु सकृय पार्टी राजनीतिमा आउने बिषयमा कुनै कुतर्क गर्नु आबश्यक नरहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति तथा उपराष्ट्रपति बनाउने बेलामा पार्टीले सिफारिस गर्ने र पदावधि सकिएपछि पार्टीमा फर्किदा खासै फरक नपर्ने दाहालको भनाइ छ । अध्यक्ष दाहालले अहिलेको गठबन्धन सरकारले गरेको कामबाट जनतामा निराशा छाएको बेलामा पूर्व राष्ट्रपतिले राजनीति कता जादै छ भनेर चासो राख्नु स्वभाविक भएको बताउनुभयो । आफूले पूर्व उपराष्ट्रपतिलाई पार्टीमा ल्याएपछि पूर्व राष्ट्रपतिलाई पनि पार्टी राजनीतिमा फर्किन ढोका खुलेको उहाँको भनाइ थियो ।
उहाँले पार्टीको स्वार्थ ,लाइन र विधान विपरित गएर आफ्नो स्वार्थमा छलफल ,बैठक गर्ने समूहलाई आफुले स्वार्थ समूह भनेको अध्यक्ष दाहालको टिप्पणी थियो । पार्टीको लाइन विपरित गएर गतिविधि गर्ने समूहका विषयमा आगामी पदाधिकारी बैठकमा समेत छलफल गर्ने उहाँको भनाई छ ।
सीमा नाका विषय समाधान नगरी छिमेकीको सम्बन्ध राम्रो नहुने बताउँनुहुँदै सीमानाका विषयमा उठेका समस्याको सरकारले समाधान गर्नुपर्ने बताउनुभयो ।