काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउनुभएको छ ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उहाँले उखु किसानका मागहरू जायज रहेको भन्दै समर्थन जनाउनुभएको हो । उहाँले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
उहाँले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरूमाथि अन्याय र ठगी गरेको आरोप लगाउनु भयो । उहाँले आन्दोलनरत किसानहरूलाई आफ्ना जायज मागहरूप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गर्नुभयो ।
मधेस प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।