२७ दिनपछि लुम्बिनी विकास कोषको तालाबन्दी हट्यो, लेखा शाखा अझै बन्द

भाद्र ९, २०८२ |मनोज पौडेल
२७ दिनपछि लुम्बिनी विकास कोषको तालाबन्दी हट्यो, लेखा शाखा अझै बन्द
काठमाडौं । विभिन्न माग राखेर बुद्ध जन्मस्थल लुम्बिनीमा कर्मचारीले महिनादेखि गरेको आन्दोलन फिर्ता लिएका छन् । 

लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेका छन् । तर, लेखा शाखामा लगाएको ताला खोलिएको छैन् । 

कर्मचारी युनियन उपाध्यक्ष सलाउद्दीन मुसलमानको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिने तर्फ केन्द्रीय भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोल्ने निर्णय गरेको थियो । 

बैठकलगत्तै कोष वरिष्ठ प्रशासकिय अधिकृत चुडामणी भट्टराईको उपस्थितीमा कर्मचारी युनियनका पदाधिकारीले ताला खोलेका थिए । साेमबार ताल खोलेर कर्मचारीले मिठाई बाडेर खुसीयाली मनाएका थिए । 

कतिपय कर्मचारी आजबाटै कार्यकक्षमा बसेर कामकाजमा लागेका छन् । कर्मचारी युनियनले साउन ८ गतेबाट विरोध कार्यक्रम सुरू गरेर साउन १३ गतेदेखि लुम्बिनी विकास कोष प्रधान कार्यालयमा तालाबन्दी गरेर पुरै कामकाज ठप्प गरेका थिए । 

कोषका लेखा प्रमुखको गैरजिम्मेवारी देखिएकाले उहाँको सरूवा हुनु पर्ने माग पूरा नभएकाले लेखा शाखामा लगाईएको तालाबन्दी नखोलिएको कर्मचारी युनियन सदस्य अब्लु अहद खाले बताउनुभयाे ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।