दाङ/ दाङ सहित पश्चिम तराइका थारु समुदायले आज अट्वारी पर्व मनाउँदैछन् । हरेक वर्षको कुशेऔँशी पछिको आईतबार मनाउने यो पर्वलाई कतै आइतवारी तथा अट्वारी पर्ब भन्ने गरिन्छ ।
परापुर्व कालका थारु समुदायका राजा दङ्गीशरण माथी आक्रमण हुँदा पाँच पाण्डव मध्येका भिमको सहयोगले दंगिसरण बाँचेको र रावण समेत परास्त भएकाले भिम जस्तै बलियो हुने मान्यताले थारु समुदायका पुरुषले आजको दिनमा वर्त बसी पुजाअर्चना गर्ने चलन छ । थारु राजा दंगिशरणको सुरक्षा गरेका भिमलाई भगवानको रुपमा मान्दै थारु समुदायका पुरुषहरु आज दिनभर ब्रत बसि साँझ पख गन्यारी भन्ने काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्ब मनाउने गर्दछन् ।
चेलिबेटिलाई श्रद्धा सहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजु भाई तथा दिदि बहिनि बिचको सम्बन्धलाई प्रगाढ बनाउने पर्बको रुपमा समेत लिइन्छ ।
माघी पछिको दोश्रो ठुलो चाड अट्वारीमा थारु समुदायका पुरुष ब्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टी मात्र पकाएको रोटी भिमलाई चढाउने र प्रसादको रुपमा खाने चलन छ । यसरी पुजा गरिएको प्रसाद आफूले खानु अघि चेलिबेटिका लागी एक भाग छुट्टाएर राख्ने चलन छ, जस्लाई अग्रासन भन्ने गरिन्छ ।
अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज थारु बाहुल्य लुम्बिनीका ५ जिल्लामा सार्वजनिक विदा दिएको छ भने केहि पालिकाहरुले भोली सोमबार सार्वजनिक विदा दिएका छन् ।