पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

समुदायस्तरमा हैजा फैलिएको आशंका, १२९ जना अस्पताल भर्ना, ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन
भाद्र ८, २०८२ |रमेश ठाकुर
पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जानकारी दिनुभएको हो । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको समेत बताउनुभयो ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका लक्षण देखिएका एक विरामीको मृत्यु हैजाकै कारण भएको थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

यसैबीच वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको आशंका गरिएको छ । शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा हैजाको लक्ष्यणसँग मिल्दोजुल्दो रहेका १ सय २९ जना बिरामी उपचाररत छन् ।

पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई पर्साका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।