हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीका सबै मार्ग सुचारु

भाद्र ७, २०८२ |बालकृष्ण अधिकारी
हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीका सबै मार्ग सुचारु

हेटौंडा/ शुक्रबार दिउँसोको वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीका सबै मार्ग पुनः सञ्चालनमा आएका छन् ।

भीमफेदी गाउँपालिका-१ बागझोरामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको हेटौंडा-काठमाडौं जोड्ने भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडकखण्ड तथा कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्ड करिब १४ घण्टापछि खुलेको हो ।

छोटो दूरीको प्रवेशद्वारमै पहिरोले बाटो अवरुद्ध बनाएपछि काठमाडौं-हेटौंडा आवागमन पूर्णरूपमा रोकिएको थियो । बाटो सुचारु भएसँगै रोकिएका सवारीसाधनहरु अब गन्तव्यतर्फ लागेका छन् । अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी, नेपाली सेना, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी र सडक डिभिजन कार्यालयका टोली सहित स्काभेटरको प्रयोग गरेको थियो ।

त्यसैगरी, हेटौंडा-ललितपुर जोड्ने कान्ति लोकपथ पनि सुचारु भएको छ । मकवानपुरको लेनडाँडा र जितपुर भन्ज्याङ क्षेत्रमा खसेको पहिरो पन्छाएसँगै उक्त मार्ग पनि खुलेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।  


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।