पाल्पा/ श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाल्पा र छिमेकी जिल्लाको आस्थाको केन्द्र रम्भादेवी मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्नुका साथै मेला लागेको छ ।
धार्मिक आस्थाको केन्द्र बनेको रम्भादेवी मन्दिरमा पूजा गर्ने र नजिकै नाचनडाँडामा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिनमा मेला लाग्दै आएको छ। रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भादेवी मन्दिरमा भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने जनविश्वास रहेको छ। भाकल गर्ने र भाकल पुरा भएपछि भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंग, रोट वा पञ्चवली दिने चलन रहेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा तानसेनका कृष्णमन्दिरमा पूजा, भजनकीर्तन र आराधना गर्नेको भीड लागेको छ। तानसेन कैलाशनगरस्थित कृष्णमन्दिरका साथै तानसेन मखनटोलमा राधाकृष्ण लगायत विभिन्न मूर्ति स्थापना गरी सिगारेर जन्माष्टमी पर्व मनाइएको हो ।