गोरखाको चुमनुब्री ल्होमा आगलागी, ६ घर पूर्णमा क्षति

श्रावण ३१, २०८२ |भीमलाल श्रेष्ठ
गोरखाको चुमनुब्री ल्होमा आगलागी, ६ घर पूर्णमा क्षति

गोरखा/ गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका–२ को ल्होमा आगलागीबाट ६ घर पूर्ण रुपमा क्षति भएको छ। शुक्रवार राती ११ बजे भएको आगलागीबाट जस्ताको छानो , ढुंगा र काठले बनेको सान्दुक लामाको २ वटा, छेवा रेक्जीन लामा, टासी लामा, वर्केन लामा र पासाङ लामाको गरी ६ वटा घर पूर्ण रुपमा क्षति भएको छ।

त्यस्तै आगलागीबाट नै छिने लामा र घ्याचु लामाको २ वटा घरमा पनि आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । सान्दुक लामाको कोही नभएको घरबाट विद्युत सर्ट भएर आगलागी भएको हुने सक्ने आंशका गरिएको छ।

आगलागीबाट मानविय र पशु चौपायामा क्षति पुगेको छैन। रातिको समयमा भएको आगलागीका कारण घरभित्र रहेको अन्नपात, लत्ताकपडा र गहना समेत जलेकोले आगलागीबाट ३ करोड भन्दा बढी नोक्सानी भएको हुन सक्ने वडाध्यक्ष मिङ्ग्युर दोर्जे लामाले जानकारी दिनुभयो । सडक सञ्जाल नभएको उक्त वडा गाउँपालिका केन्द्रबाट २ दिन पैदल हिडेर मात्र पुग्न सकिन्छ । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


सम्बन्धित