काठमाडौं । अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय अर्थतन्त्र सुधार सुझाव आयोगको अध्यक्ष रहनुभएका पूर्वअर्थसचिव रामेश्वर खनाल सोही सुझाव कार्यान्वयन गर्ने अर्थमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ ।
अर्थमन्त्रालयमा साेमबार पदबहाली गर्दै उहाँले आयोगको सुझाव र सिफारिस कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो । मन्त्री खनालले पूर्व तयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयनमा नगर्ने पहिलो निर्णयसमेत गर्नुभएको छ ।
उहाँले मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पार्न जेन-जी पुस्ताको भावना अनुसार काम गरिने बताउनु भयो । भ्रष्टाचारबाट पूर्ण मुक्त गर्नका लागि श्रोतको दुरुपयोग नगर्न र सार्वजनिक सम्पत्ति व्यक्तिगत रुपमा प्रयोगमा नल्याउनसमेत मन्त्री खनालले निर्देशन दिनुभयो ।
तयारी पुरा नभएका आयोजनाको बजेट रोकेर चुनावका लागि स्रोत जुटाइने उहाँको भनाइ थियो । मन्त्री खनालले अर्थतन्त्र सुधार सुझाव आयोगको सुझाव र सिफारिस कार्यान्वयन गर्ने र सार्वजनिक खर्च व्यवस्थापन प्राथमिकतामा राख्ने बताउनुभयो ।
खनाल नेतृत्वको आयोगले गत चैतमा ४ सय ४७ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै अर्थतन्त्र सुधारका लागि दीर्घकालीन उपायसहितको सुझाव दिएको थियो । अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल घट्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनीहरूका समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।
राजस्व असुलीमा धेरै दबाब नदिई समन्वयबाटै अघि बढ्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले पुननिर्माणका लागि क्षतिको एकिन गर्ने छ । सकभर आन्तरिक तहबाटै स्रोत जुटाएर पुननिर्माण गरिने पनि मन्त्री खनालले बताउनुभयो ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटबाटै एक खर्ब रूपैयाँ अनावश्यक र फजुल खर्च घटाउन सकिने ब्रिफिङ गरेको छ । सोही अनुसार फाल्गुन २१ लागि चाहिने निर्वाचनको स्रोत जुटाइने छ । नयाँ सवारीसाधन नकिन्न र कार्यक्रमहरू मन्त्रालयमै गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।