पत्रकार तथा सञ्चारगृहमाथि योजनाबद्ध आक्रमण : आरएसएफ

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पत्रकार तथा सञ्चारगृहमाथि योजनाबद्ध आक्रमण : आरएसएफ

काठमाडौं । प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत रिपोटर्स विदाउट बोर्डस-आरएसएफले जेन-जी प्रदर्शनका क्रममा कान्तिपुर मिडिया ग्रुपसहित एक दर्जनभन्दा बढी सञ्चारमाध्यम र कार्यालयमा आक्रमण गरिएको जनाउँदै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न आह्वान गरेको छ ।

आरएसएफले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा सेनालाई पत्रकारको पेशाको सम्मान गर्नसमेत आग्रह गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली तथा ढुंगा लागेर ५ पत्रकार घाइते भएको र एक दर्जनभन्दा बढी सञ्चारमाध्यमका पूर्वाधार तथा सञ्चार सामग्रीमा समेत तोडफोड तथा आगजनी भएको आरएसएफले जनाएको छ। 

पत्रकार तथा सञ्चारगृहमाथि योजनाबद्ध आक्रमण भएको पनि आरएसएफले उल्लेख गरेको छ । आरएसएफकी दक्षिण एसिया प्रमुख सेलीया मर्सियरले सत्ता विरोधी आन्दोलनको क्रममा सञ्चारमाध्यममाथि गरिएका आक्रमण अस्वीकार्य भएको बताउनुभयो । 

संकट र अस्थिरताका बेला सूचना दिने र पाउने अधिकारको सुरक्षा गर्नु झनै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री, राष्ट्रपति र सेनासँग पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न माग गर्नुभयो ।

देशभर सञ्चारमाध्यमहरू प्रभावित

प्रदर्शनका क्रममा थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय, तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर र अन्नपूर्ण पोस्ट दैनिकका कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ । 

कान्तिपुर टेलिभिजनको समाचार प्रसारण भइरहेका बेला प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरेपछि प्रधान सम्पादक विजय पौडेलले सिसा फुटाएर कर्मचारीहरूको उद्दार गर्नुभयो । त्यसक्रममा उहाँ घाइते हुनुभएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रूपेश श्रेष्ठ र रेडियो कान्तिपुरका पत्रकार अनिल बोगटीलाई निर्घात कुटपिट गरे । 

सो आक्रमणबाट कान्तिपुर टिभीको सम्पूर्ण पूर्वाधारमा क्षति पुग्दा प्रसारण बन्द भयो । कार्यालय परिसरमा रहेका चार दर्जन सवारीसाधनमा आगजनीसमेत गरियो ।त्यस्तै, अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालक रामेश्वर थापाको घरमा समेत आगजनी गरियो । एभेन्युज टेलिभिजन, एबीसी टेलिभिजन र आइटिभी नेपालको पूर्वाधारमा क्षति पुग्दा प्रसारण बन्द भयो ।

देशका अन्य भागहरूमा पनि यस्तै प्रकारका आक्रमण भए । बुटवलमा न्यूज २४ टीभी र रेडियो जागरणका गाडीहरूमा आगजनी गरियो । कास्कीमा रेडियो ढोरबाराहीका कर्मचारीहरूको मोटरसाइकल तोडफोड गरिएको छ भने केन्द्रभाग डटकमका प्रधान सम्पादक गोविन्द सुवेदीको क्यामेरा क्षतिग्रस्त भयो ।

सर्लाहीमा मेरो शान टिभीका पत्रकार राजीव साहमाथि आक्रमण गरियो। चितवनमा सफल खबर डटकम र चुरे सन्देश दैनिकका कार्यालयहरूमा लुटपाट र आगजनी भयो । कालिका एफएमको सम्पर्क सामग्री नष्ट गरिएको छ भने कपुरबोट मिडियाका निर्देशक सन्तोष देउजाको घरमा लुटपाट गरी आगो लगाइयो।

इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा समेत तोडफोड गरियो । मधेश प्रदेशको सप्तरी जिल्लामा रहेका पत्रकार महासंघका शाखा कार्यालयमा पनि तोडफोड गरियो।

सुरक्षाकर्मीको दमन

भदौ २३ मा भएका प्रदर्शनका क्रममा प्रहरीद्वारा चलाइएको रबरको गोली लागेर कान्तिपुर टिभीका क्यामेरापर्सन श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपालप्रेसका फोटो पत्रकार उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु डंगोल घाइते भए । देशसञ्चारकी पत्रकार वर्षा शाह ढुंगाले लाग्दा घाइते भइन्।

नेपाल सन् २०२५ को आरएसएफको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये ९०औं स्थानमा रहेको छ। २०२५ को मे महिनामा नेपाल भ्रमण गरेको बेला आरएसएफले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न ठोस कदम चाल्न नेपाल सरकारसँग आग्रह गरेको थियो।

आरएसएफद्वारा लेखिएका रिपाेर्ट :

Political crisis in Nepal: more than a dozen media outlets targeted, journalists injured


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.