काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्व पाएका कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्य गर्ने मानिसको रूपमा चिनिन्छ ।
रामेछापको दुर्गम बेथानमा सरकारी विद्यालय बढेका एक जना किसानको छोरा कुलमानले देशलाई लोडसेडिङबाट मुक्त गराउनुभएको थियो । कक्षा ५ अध्ययनपछि उहाँ काठमाडौंमा आएर अध्ययन गर्न थाल्नुभयो ।
विद्यालयमा सधैं प्रथम हुने कुलमानले काठमाडौं आएपछि मात्र विजुली बत्ती देख्नुभएको थियो । त्यसबेला नै उहाँले आफ्नो गाउँ बेथानमा यसैगरी बिजुली बाल्ने संकल्प लिनुभएको थियो । अहिले उहाँको पुर्खौली थलो बेथानमा बिजुली बलिसकेको छ । बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता उहाँ बन्नुभएको थियो ।
एसएलसी उत्तीर्ण गरेपछि कुलमानले काठमाडौंको अस्कल क्याम्पसबाट आइएससी गर्नुभयो । त्यसपछि उहाँ छात्रवृत्तिमा भारतमा पढ्न जानुभयो । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव २०५१ सालतिर उहाँ स्वदेश फर्केर नेपाल विद्युत् प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिर खान सुरू गर्नुभयो ।
काम गर्दै पढ्ने क्रममा उहााले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्नुभयो । कुलमानले 'इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट'मा थेसिस गर्नुभएको थियो । उहाँले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गर्नुभएको छ ।
प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाउनुभयो । त्यस बेला उहाँ दशौं तहमा हुनुहुन्थ्यो । तर, तत्कालीन सरकारले कुलमान आयोजनाबाट हटाएर प्राधिकरणको केन्द्रमा तान्यो ।
केन्द्रमा आएपछि उहाँले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाउनुभएको थिएन । तर, सरकारले उहाँलाई विश्वास गरेर प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दियो ।
त्यसपछि उहाँले आफ्नो क्षमता प्रमाणित गरेर देखाइदिनुभएको हो । कुलमान कार्यकारी अधिकृत बन्नुअघिसम्म नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । तर जब उहाँ कार्यकारी अधिकृत बन्नुभयो, त्यसपछि लोडसेडिङ अन्त्य नै भयो । त्यसपछि उहाँ हरेक नेपालीको मनमा बस्न सफल हुनुभएको हो ।
अहिले उर्जा, जलस्रोत तथा सिँचाइ मात्र होइन, उहाँले अरू दुई वटा मन्त्रालयको नेतृत्व पनि पाउनुभएको छ । अब कुलमानसामु उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयका अनेक बेतिथि सुधार गर्दै आफ्नो क्षमता थप प्रमाणित गर्ने अवसर मिलेको छ ।