जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा. पुजनकुमार रोकाया नियुक्त हुनुभएको छ । उहाँ चौथो उपकुलपतिका रुपमा नियुक्त हुनुभएको हो । गत चैत महिनामा तत्कालीन उपकुलपति डा. मंगल रावलको कार्यकाल सकिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो । प्रतिष्ठानले चार महिना पनि उपकुलपति पाएको हो ।
डा. रोकाया दोस्रो प्रयासमा उपकुलपतिमा नियुक्त हुनुभएको हो । अघिल्लो कार्यकालमा उपकुलपती पदका लागि डा. रोकायाको पनि दाबी थियो । प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्रीले नाम सिफारिस गर्दा पनि उहाा उपकुलपति हुन पाउनु भएको थिएन ।
डा. रोकाया विगत १२ बर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा हाडजोर्नी तथा नशारोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । जि. एम. डी. मोर्डन पब्लिक हाई स्कुल जुम्लाबाट एसएलसी उतिर्ण डा. रोकायाले वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुर्गम कोटाबाट नाम निकालेर एमबीबीएस उतिर्ण गर्नुभएको थियो ।
डा. रोकायाले टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौंबाट हाडजोर्नी तथा नशा रोग बिषयमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको थियो । दुर्गम कोटामा अध्ययन गरेकाले दुर्गम क्षेत्रमै सेवा गर्नुपर्छ भन्ने मान्यता उहाँमा छ ।