मधेशको शिक्षा बिगार्ने काम व्यवस्थापन समितिका अध्यक्षहरूबाट भइरहेको छ : मुख्यमन्त्री सिंह

श्रावण २७, २०८२ |आरएन विश्वास
मधेशको शिक्षा बिगार्ने काम व्यवस्थापन समितिका अध्यक्षहरूबाट भइरहेको छ : मुख्यमन्त्री सिंह

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको शिक्षा बिगार्ने काम विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूबाट पनि भइरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्तरी युथले मंगलबार राजविराजमा आयोजना गरेको युवाहरूको सम्मेलनलाई उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सिंहले यस्तो बताउनुभएको हो । 

व्यवस्थापन समितिका अध्यक्षहरूले करार तथा निजी श्रोतका नाममा आफना परिवार, नातागोताको भर्तिकेन्द्र बनाएकोले पनि शिक्षण प्रक्रिया प्रभावकारी हुन नसकेको मुख्यमन्त्री सिंहको भनाइ छ । उहाँले यसको सहयोगी भने लामो समयदेखि शिक्षकको भर्ना नखुलेको र परीक्षा अमर्यादित हुनु पनि भएको दाबी गर्नुभयो ।

शिक्षा बिना केही सम्भव नभएको हुँदा भरपर्दो शिक्षा बनाउन सम्बन्धित सबै गम्भीर नभएसम्म युवावर्ग कसरी अगाडी बढ्ने ठुलो चिन्ताको विषय भएको मुख्यमन्त्री सिंहको टिप्पणी थियो ।

राम्रो शिक्षा आर्जन गरे मात्रै सरकारी सेवामा मधेसी युवाहरूको प्रवेश हुने भएकोले यसतर्फ गम्भीर र लगनशील हुन मुख्यमन्त्री सिंहले युवा विद्यार्थीसँग आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री र मुख्यमन्त्री भन्दा बढी शक्तिशाली ७५३ वटा स्थानीय सरकारका प्रमुख भएकोले बिना रोकटोक पाँच वर्षसम्म नियमित स्थानीयको माग अनुसार विकास काममा ध्यान दिनुपर्ने आग्रह मुख्यमन्त्री सिंहले गर्नुभयो ।

संघियतापछि मधेशमा बढी सडक-बाटो निर्माण भएको बताउनुहुँदै मुख्यमन्त्री सिंहले मधेशमै एमबीबीएसको अध्ययनदेखि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणसम्मको नमुना काम भइरहेको जानकारी दिनुभयो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।