नेचासल्यान गाउँपालिकाको एकीकृत शिविरमा ११ सय बढीले सेवा लिए

श्रावण २३, २०८२ |भानुभक्त निरौला
नेचासल्यान गाउँपालिकाको एकीकृत शिविरमा ११ सय बढीले सेवा लिए

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकाले काठमाडौं आयोजना गरेको एकीकृत सेवा शिविरबाट ११ सय बढीले सेवा लिएका छन् । गाउँपालिकाले गत साउन १९ गतेबाट २२ गते सम्म ४ दिन काठमाडौंको सुकेधारामा सञ्चालन गरेको एकीकृत सेवा शिविरबाट नागरिकले सेवा लिएका हुन् ।

स्थायी बसोबास नेचासल्यान भई काठमाडौंमा विभिन्न कारण अस्थायी रुपमा बसोबास गर्दै आइरहेका पालिकाबासीहरुको सहजताका लागि गाउँपालिकाले शिविरको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष धनजन राईले बताउनुभयो । शिविरमार्फत वडा नम्बर १ का १ सय ९३, २ बाट १ सय २८ जना, ३ बाट १ सय ३० जना, ४ बाट ९१ जना र वडा नम्बर ५ बाट ९८ जनाले सेवा लिएका हुन । गाउँपालिकाले काठमाडौंबाट १२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ३ सय १३ जनालाई राष्ट्रिय परिचयपत्र र २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरि परिचयपत्र सम्बन्धी ५ सय २९ जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले शिविरमार्फत वडा नम्बर १ बाट ३८ हजार ६ सय ९०, वडा नम्बर २ बाट २० हजार ४ सय ८५, वडा नम्बर ३ बाट १७ हजार ९ सय ९६, वडा नम्बर ४ बाट १९ हजार ८ सय ६३ र वडा नम्बर ५ बाट २५ हजार ३ सय ८ गरि १ लाख २२ हजार ३ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । 


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।