नेपाली सेनाले सुरू गर्‍यो खुर्कोटको बेली-ब्रीजको मर्मत, काम सक्न दुई दिन लाग्ने

श्रावण २२, २०८२ |नवराज श्रेष्ठ
नेपाली सेनाले सुरू गर्‍यो खुर्कोटको बेली-ब्रीजको मर्मत, काम सक्न दुई दिन लाग्ने

रामेछाप । रामेछापबाट राजधानी काठमाडौँ पुग्न सबैभन्दा छोटो दूरीमा पर्ने बिपी राजमार्गसँग जोडिने खुर्कोट बेलीब्रीजको मर्मत कार्य सुरू गरिएको छ। 

पुलमा लचकपन देखिनु, नट-बोल्ट खुकुलो हुनु र स्टिल पाता हल्लिनुजस्ता समस्या देखिएपछि मर्मत थालिएको हो। खुर्कोट पुलको मर्मत नेपाली सेनाको खड्ग दल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको इन्जिनियरिङ युनिटले बिहीबारदेखि सुरू गरेको हो। 

हाल नट-बोल्ट कस्नेलगायतका काम भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो । नेपाली सेनाले नियमित मर्मत अन्तर्गत मर्मतको काम सुरू गरेकाले अबको दुई दिनभित्र मर्मत भइसक्ने उहाँको भनाइ छ ।

नेपाली सेनाले जडान गरेको बेलीब्रीजमा अधिकतम १५ टन भारवाहक सवारी मात्रै सञ्चालन गर्न मिल्ने भनिए पनि स्थानीयले बढी तौलका सवारी प्रहरीको मिलेमतोमा पार गरिने गरेको गुनासो गरेका छन्।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ वेतिनी जोड्ने १०० मिटर लामो उक्त पुलमा गत वर्षको बाढीले ५१ मिटर भाग बगाएको थियो। 

त्यसपछि सेनाले कात्तिक ६ गतेदेखि सञ्चालनमा ल्याउँदै बेलीब्रीज जडान गरेको थियो। करिब १८ करोड लागतमा निर्माण भएको मूल पुलले मन्थलीबाट काठमाडौँसम्मको दूरी करिब ७५ किलोमिटर छोट्याएको छ। 

नेपाली सेनाले सडक डिभिजन कार्यालय खुर्कोटसँग आवश्यक समन्वय गरी मर्मत कार्य गरिरहेको हो ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।


सम्बन्धित