रूपन्देही । शान्त, सौम्य, हरियाली वातावरण, जहाँ पुग्नासाथ शान्तिको अनुभूति हुन्छ। विश्वभरका बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउने लुम्बिनी अहिले आफै अशान्त छ ।
कर्मचारी आन्दोलन र भिक्षुहरूको विरोध कार्यक्रमले लुम्बिनीको शान्ति बिथोलिएको हो । यसको कारण लुम्बिनी विकास कोषका पदाधिकारीको गैरजिम्मेवारीलाई मानिएको छ ।
लुम्बिनी विकास कोषका कर्मचारी साउन १३ गतेदेखि कामकाज ठप्प गरेर आन्दोलित छन् । लुम्बिनीस्थित कोषको प्रधानकार्यालय अघि मुख्य गेटमा तालाबन्दी गरेर १० देखि ५ बजेसम्म धर्ना दिन्छन् ।
मुख्य गेट र कार्यालयका शाखामा तालाबन्दी छ । कोष कर्मचारी युनियनले ४ बुादे माग राखेर विरोध गरिराखेका छन् । आन्दोलन अनिश्चितकालीन भनिएको छ।
५ गते नै ज्ञापनपत्र बुझाई विरोध थालेको कर्मचारी युनियनले साउन ८ र ९ गते हातमा कालो पट्टी बााधेर काम गर्यो । १२ गते कोषका कर्मचारीले प्रयोग गर्दै आएका ३५ वटा मोटरसाइकल, ११ वटा विद्युतीय भ्यान र ३ वटा डिजल गाडी कोष पसिरमा थन्क्याइदिए ।
सञ्चित बिदा, कोष भत्ता र मंहगी भत्ता पाउनुपर्ने, ०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागु नहुने गरि सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पद पूर्ति गर्नु पर्नेलगायतका माग गर्दै आन्दोलन गरेका हुन् ।
कोषका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र योजना प्रबन्धक चारैजना पदाधिकारी लुम्बिनीमा नहुँदा आन्दोलनरत पक्षको कुरा सुनिदिने कोही छैन । यतिका दिन बितिसक्दा न त कर्मचारीसाग वार्ताको प्रस्ताव नै गरिएको छ । यसले आन्दोलनरत कर्मचारीको आक्रोश झनै बढाएको छ ।
लुम्बिनीमा कर्मचारीमात्रै हैन भिक्षुहरू पनि आन्दोलित छन् । भिक्षुहरूको संस्था लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका तर्फबाट कोषको गुरुयोजनाभित्र रहेका विहार, मन्दिर, गुम्बा र चैत्यमा नियमित बिजुली आपूर्तिको माग गर्दै भिक्षुभिक्षुणी आफै लुम्बिनी विकास कोष र विद्युत प्राधिकरण लुम्बिनी बिक्री केन्द्रमा साउन ५ गते ज्ञापन पत्र दिन पुगे ।
लुम्बिनीस्थित कोष गुरूयोजनाका विहार मन्दिरमा ५/६ वर्षदेखि विद्युतको ठूलो समस्या छ । बिजुली नगएको दिन छैन । अहिलेको प्रचण्ड गर्मीमा एक घण्टादेखि कहिले त २०/२५ घण्टासम्म निरन्तर बिजुली हुँदैन ।
आन्दोलन, धर्ना र विरोधका कार्यक्रमले लुम्बिनीको महिमा र ओज घटाएको त छ नै अध्यात्मिक वातावरणसमेत धुमिल बनाएको छ । त्यसैले समस्या समाधन गर्न नसक्ने कोषलाई करौडौँ खर्च किन राख्ने भन्ने प्रश्न उठेको छ ।