जनकपुरधामको पहिचान बनेको झुलनोत्सव लोप हुने अवस्थामा, गुठी संस्थान र मानमहन्थहरूको उदासीनता

श्रावण १७, २०८२ |अमरकान्त ठाकुर
जनकपुरधामको पहिचान बनेको झुलनोत्सव लोप हुने अवस्थामा, गुठी संस्थान र मानमहन्थहरूको उदासीनता

जनकपुरधाम । ७२ कुण्ड ५२ कुटीले चिनिएको जनकपुरधाममा झुलनोत्सवको बेला पहिलेपहिले मठ मन्दिरहरू संगीतमय हुन्थे । 

दुई दशक अघिसम्म पनि नाचगान र आकर्षकरूपमा सजिएका मठ मन्दिरमा श्रद्धालुको मध्यरातसम्म भिड लाग्थ्यो । तर गुठी संस्थान र मानमहन्थहरूको उदासीनताका कारण मिथिला नगरीको मनमोहक झुलनोत्सव अचेल केवल परम्परामा सीमित बनेको छ ।

जनकपुरधाम र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीता, राधाकृष्णलगायतका देवीदेवताको मूर्ति राखी झुलाउने परम्परा छ । तर झुलनोत्सवकै लागि करिब ६ दशकअघि राम मन्दिरले निर्माण गरेको झुलाघर भने १५ दिने झुलनोत्सवमा पनि सुनसान छ । 

जानकी मन्दिरमा भक्तजनको भिड रहे पनि जनकपुरधामका अन्य मठमन्दिर र झुला घरमा हुने उत्सव केवल औपचारिकतमा सीमति हुँदै गएका छन् । जनकपुर झुला घरले भोगेको बेवास्ता उदाहरण मात्रै हो । 

त्यहाँका प्रसिद्ध मन्दिर रत्न सागर, विहार कुण्ड, अग्नि कुण्डलगायतका झुलाघरहरू पनि सुनसान छन् । पहिले झुलनोत्सवमा मठमन्दिर श्रद्धालु भक्तजनहरूले अबेर रातिसम्म भरिभराउ हुन्थे । तर गुठी संस्थानको उदासीनता र अधिकांश मन्दिरहरू महन्थविहीन भएपछि झुलनोत्सवको चहलपहलमा कमी आएको छ ।

मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलनोत्सव साउन शुक्ल तृतीयादेखि पूणिर्मासम्म मनाइन्छ । झुलनोत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको मान्यता छ । सन्तहरूले खुला चौर वा रूखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाउने गरेको जनविश्वासमा यो पर्व मनाइन्छ ।

गाउँगाउँबाट झुला हेर्न आउने मानिसको पहिले जनकपुरमा भिड हुन्थ्यो । तर यसपटक वर्षा नहुदाँ धान रोप्न नसकेको पिडामा डुबेका किसान जनकपुर आएका छैनन् । झुलनोत्सवले जनकपुरधामको ऐतिहासिकतालाई जोगाएको छ । तर यसको गरिमा जोगाउन सरोकारवाला सबै गम्भीर हुनुपर्ने देखिन्छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।