सल्यान । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी ३६ बर्षका राजेश बिष्ट, ४८ बर्षिय डिल्ली शाही, ३७ बर्षिय एकेन्द्र शाही र २६ वर्षीय लक्ष्मी शाही रहेको कुमाख गाउँपालिका ४ का वडा अध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा सोही ठाउँका २६ बर्षिय हिम बहादुर शाही, ३६ बर्षिय नेव बहादुर शाही र २२ बर्षका हेमन्त शाही रहेका छन् । तीन जना मृतक एकै परिवारका हुन् । उनीहरु रोजगारीका सिलसिलामा भारत गएका हुन् ।
एक घण्टाको दुरीमा काम गर्न जाने क्रममा एचपी ६३,७८,९७ नम्बरको पिकप गाडी दुर्घटनामा परेको थियो । गत साउन महिनामा रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दुर्घटनामा परी ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको वडाध्यक्ष बस्नेतले बताउनु भयो । मृतकको शव पोष्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ ।