बाढीले कालिञ्चोक जाने सडक बगाएपछि दुई सातादेखि सम्पर्क विच्छेद

विद्यालय जान खोलामै हेलिने बाध्यता, आलु निर्यात ठप्प
श्रावण १७, २०८२ |केदार शिवाकोटी
बाढीले कालिञ्चोक जाने सडक बगाएपछि दुई सातादेखि सम्पर्क विच्छेद

दोलखा । बाढीले दोलखाको कालिञ्चोक गाउँपालिका-१ दुर्गम वडा कालिञ्चोक जाने सडक बगाएपछि दुई सातादेखि सम्पर्क विच्छेदमा परेको छ ।

यावल खोलामा राखिएको हिमपाईप दुई साताअघि बाढीले बगाएपछि पुरै वडा सडक सञ्जालबाट सम्पर्क विच्छेदमा परेको हो । बाढीले हिमपाईप बगाएपछि विद्यालय जाने बालबालिका जोखिम मोलेर खोलामा हेलिएर विद्यालय जान वाध्यछन् । 

सडक बगाएपछि गाउँमा खाद्यन्न ढुवानी ठप्प भएको छ । यस्तै बिरामीलाई अस्पताल लैजान खोलामा हेलिएर डोकामा बोकाएर लानुपर्ने बाध्यता भएको कालिञ्चोक-१ का वडा अध्यक्ष पदम थामीले बताउनु भयो । 

पानी परेपछि विद्यालय पुगेका बालबालिका लिन अभिभावकले यावल खोलामा हेलिएर वारपार गराउने गरेको उहाँले बताउनुभयो । वैकल्पिकमार्गका रूपमा रहेको विगु हुँदै जाने सडकमासमेत पुल नभएपछि वर्षामा खोला तर्न नसकिएका कारण थप समस्या भएको उहाँले बताउनुभयो । 

खाद्यन्न ढुवानी हुने मुख्य सुनखानी साङबा सडक पनि बाढी र पहिराले क्षतिग्रस्त बनाएपछि थप समस्यामा वडा रहेको उहाँले बताउनुभयो । वडाका स्थानीयको मुख्य आयश्रोत बर्खे आलुसमेत सडक नभएपछि निर्यात हुन सकेको छैन् । जस्का कारण स्थानीय बेखर्ची हुन थालेको उहाँले बताउनुभयो । 

कालिञ्चोकबाट हरेक वर्ष लाखौंको बर्खे आलु निर्यात हुँदै आएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।