धनुषा । लामो समयको खडेरीपछि सुख्खाग्रस्त मधेसमा पछिल्लो चौबीस घन्टामा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको हो ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषामा ६३ मिलिमिटर, रौतहटमा ४४ दशमलब ६ मिलिमिटर र बाराको अमलेखगंजमा ४६ दशमलब ४ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेशका बाँकीका केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ । वर्षाका कारण मधेसका मानिसहरूले राहत महसुस गरेका छन् ।
यसैबीच, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावका कारण आज देशैभर बदली रहने छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।