कञ्चनपुरका मानव बस्तीमा बाघ र चितुवाको त्रास, खोजी तीव्र : हात्ती र ड्रोन परिचालन गरिँदै

श्रावण १५, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरका मानव बस्तीमा बाघ र चितुवाको त्रास, खोजी तीव्र : हात्ती र ड्रोन परिचालन गरिँदै

कञ्चनपुर । कञ्चनपुरका बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रका मानव बस्तीमा पछिल्ला केही दिनयता बाघ र चितुवाको सक्रियता बढेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । 

लगातार रूपमा बाघजस्ता वन्यजन्तुहरू बस्ती नजिक देखिन थालेपछि वन प्रशासन र सरोकारवाला निकायले खोजी कार्य तीव्र बनाएको छ । बेलौरी नगरपालिका वडा नम्बर ९ मा मंगलबार साँझ बाघसहित दुई वटा डमरू देखिएको स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्तीसहित प्राविधिक टोली परिचालन गरेको छ ।

वडाध्यक्ष किसनसिंह रानाकाअनुसार एक पोथी र दुई भाले हात्तीसहितको टोली परिचालित भए पनि प्रारम्भिक खोजीमा सफलता हात नपरेपछि टोलीले बेलौरी ९ अन्तर्गत कुण्डा क्षेत्रको वैजनाथ मध्यवर्ती सामुदायिक वनमा डेरा जमाएर खोजी जारी राखेको छ । 

वडाध्यक्ष रानाले पछिल्ला दिनमा बाघ प्रजातिका जनावर देखिएको भन्दै स्थानीय त्रसित रहेको बताउनुभयो । 'बाघ वा चितुवा यकिन हुन बाँकी भए पनि बाघ प्रजातिका जनावर देखिएपछि बस्तीमा त्रासको वातावरण बनेको छ,' उहाँले भन्नुभयो । खोजी कार्यमा हात्ती सहित प्राविधिक टोलीसहित शुक्रबारदेखि ड्रोन क्यामेराबाट निगरानी गर्ने तयारी गरिएको छ ।

यसअघि गत साता बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा बाघ पसेको खबरपछि दुई दिनसम्म हात्तीसहित प्राविधिक टोलीले खोजी कार्य गरेको थियो तर केही पनि फेला पर्न सकेन । 

यस्तै, बुधबार दिउँसो पुनर्वास नगरपालिका वडा नम्बर ४ र ६ को सीमावर्ती उखुबारी क्षेत्रमा समेत बाघ देखिएको सूचना प्राप्त भएपछि खोजीकार्यमा टोली सक्रिय बनेको थियो । 

वडा नम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाका अनुसार त्यहाँ पनि खोजी गरिएता पनि बाघ फेला परेको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मानव बस्ती नजिक वन्यजन्तु देखिने क्रम बढेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । 

निकुञ्जसँग समन्वयमा प्राविधिक टोली परिचालन गर्दै बाघ वा चितुवा पत्ता लगाउने प्रयास भइरहेको छ भने स्थानीय बासीलाई सचेत रहन भनिएको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्न थालेसँगै दीर्घकालीन समाधानका उपायबारे बहस पनि सुरू भएको छ । 

संरक्षित क्षेत्र नजिकका बस्तीहरूमा सुरक्षा पूर्वाधार, जनचेतना तथा वन्यजन्तु अनुगमन प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनु भएको छ । यसैबिच, बाघ तथा चितुवाको सटीक पहिचान, स्थान ट्र्याकिङ, बस्तीमा पस्न नदिन ब्यारियर निर्माणजस्ता उपायमार्फत दीर्घकालीन नीति तर्जुमा गरिनुपर्ने माग पनि उठ्न थालेको छ । 

वन्यजन्तुको संरक्षण र मानव सुरक्षाबीचको सन्तुलन मिलाउन तत्कालीन तथा रणनीतिक हस्तक्षेपको खाँचो देखिएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।